कर्णालीको स्याउलाई भाउकै चिन्ता

वीरेन्द्रनगर — डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–४ सु र रंगगाउँ जिल्लाकै बढी स्याउ फल्ने ठाउँ हुन् । जहाँ झन्डै १ सय घरमा स्याउ खेती भइरहेको छ । स्थानीय राजेन्द्र बुढाले १५ वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आएका छन् ।

उनको ७ रोपनी जग्गामा ३ सय बोटमा स्याउ फलिरहेका छन् । गत वर्ष ३५ क्विन्टल स्याउ उत्पादन गरेका उनको बारीमा यो वर्ष झन्डै ३० क्विन्टल फल्यो । नलाई बर्सेनि स्याउ कसरी पुर्‍याउने भन्ने चिन्ता हुन्थ्यो, यसपालि भने उनको बारीमै व्यापारी पुगेका छन् । ‘दुई वर्षअघिसम्म उत्पादन गरेको स्याउ गाईभैंसी र गोरुलाई खुवाउनुपर्ने बाध्यता थियो, केही स्याउको रक्सी बनाउँथ्यौं,’ उनले भने, ‘अहिले स्याउ किन्न व्यापारी बारीमै पुग्छन् । तर भाउ कहिल्यै पाइँदैन । हामी बजारमा आफैं स्याउ पुर्‍याउन नसक्दा सबै स्याउ व्यापारीको जिम्मा लगाउन बाध्य छौं ।’

उनले यो वर्ष बारीमै पुगेका नेपालगन्जका एक व्यापारीलाई ३५ रुपैयाँ किलोमा स्याउ बिक्री गरे ।कालीकोटको रास्कोट–९ फुकोटका भूमीश्वर उपाध्यायको बारीभरि लटरम्म स्याउ फलेका छन् । तीन दशकदेखि स्याउखेतीमा लागेका उनको बारीमा झन्डै २ सय बोटमा स्याउ फलेका छन् । गत वर्ष उनले झन्डै ३० क्विन्टल स्याउ उत्पादन गरे । यो वर्ष पनि पोहर सालजति नै स्याउ फलेका छन् । तर उनलाई बारीमा उत्पादित स्याउ मोटरबाटोसम्मै पुर्‍याउन ५ घण्टाभन्दा बढी लाग्छ ।

‘गाउँमा सडक सुविधा छैन, कर्णाली राजमार्गसम्म लैजान डोकोमा स्याउ बोक्नुपर्छ,’ उनले भने, ‘सुर्खेतका बजारमा १ सयदेखि १ सय ५० रुपैयाँ किलो स्याउ बिक्री भइरहेको छ, हामी भने ५ रुपैयाँ दाना बेच्न बाध्य छौं ।’ उत्पादन गरेको स्याउ बजार पुर्‍याउन ढुवानी भाडा प्रतिकिलो २० रुपैयाँसम्म लाग्ने उनले गुनासो गरे । गाउँमा उत्पादित स्याउ सुर्खेत र नेपालगन्ज पुर्‍याउन ४/५ दिन लाग्छ । ‘आधा स्याउ त बाटोमै कुहिन्छ,’ उनले भने, ‘हाम्रो स्याउले न राम्रो भाउ पाउँछ, न बजार ।’ कच्ची बाटोले गर्दा गाउँका झन्डै ५० किसानले स्याउ बजारसम्म पुर्‍याउन नसक्ने उनको गुनासो छ ।

कर्णालीमा झन्डै ७ हजार ९ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । यसमध्ये करिब ४ हजार हेक्टरमा स्याउ फलिरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । तर हुम्ला, मुगु, कालीकोट र डोल्पामा उत्पादित स्याउ बजार पुर्‍याउनै मुस्किल भएको किसान बताउँछन् । ‘एक त गाउँमा सडक नै छैन,’ त्रिपुरासुन्दरी–४ का किसान कर्ण बुढाले भने, ‘सडक भए पनि गाडी नचल्दा स्याउ बजार पुर्‍याउनै मुस्किल भयो, आफैं बजार लिन नसकिएपछि गाउँमा आएका व्यापारीलाई सस्तोमा स्याउ बिक्री गर्न बाध्य छौं ।’

यस वर्ष उनले १५ क्विन्टल स्याउ उत्पादन गरेका थिए । सबै स्याउ गाउँमा आएका एक व्यापारीलाई प्रतिकिलो ३० रुपैयाँमा बिक्री गरेको उनको भनाइ छ । वर्षायाममा सवारीसाधन गाउँमा पुग्नै सकस हुने र पुगिहाले पनि साना गाडी मात्र पुग्ने उनले बताए । साना गाडीको भाडा महँगो हुने भएकाले समस्या छ । ‘ट्र्याक्टरमा सबै स्याउ बिग्रिहाल्छन्, त्यसैले हामी व्यापारीलाई सिधै दिन्छौं,’ उनले भने, ‘आफैं बजार पुर्‍याउन नसक्दा स्याउमा घाटा खान बाध्य छौं ।’

गाडी पुगेका गाउँमा पनि स्याउ कुहिने हो कि भन्ने चिन्ता हुने गरेको जुम्लाको सिंजा गाउँपालिका–६ का जगतबहादुर बुढाले जनाए । ०५७ सालबाट स्याउ खेती गर्दै आएका उनले झन्डै २० रोपनी जमिनमा स्याउ लगाएका छन् । ‘व्यापारी आइरहेका छन्, तर भाउ नमिलेकाले स्याउलाई बजारसम्म पुर्‍याउन सकिएको छैन, अब त स्याउ घरमै कुहिने हो कि भन्ने पिरलो हुन लाग्यो,’ उनले भने, ‘सबै सवारीले स्याउ ढुवानी गर्न मान्दैनन्, आफैं रिजर्भ गरेर लैजान सकिन्न ।’ प्याकिङ गरिराखेका झन्डै ४ सय कार्टुन स्याउ घरमै थन्किएको उनको गुनासो छ । उनका अनुसार एक कार्टुनमा १५ किलोसम्म स्याउ अट्छ । गत वर्ष स्याउबाट झन्डै ३ लाख रुपैयाँ कमाएका उनी यो वर्ष त्यति पनि कमाइ नहुने हो कि भन्ने चिन्तामा छन् ।

कर्णालीमा सबैभन्दा बढी जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको छ । यो वर्ष १४ सय हेक्टरमा लगाइएको स्याउले फल दिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जनाए । उनका अनुसार एक हेक्टर क्षेत्रफलमा ५ टन स्याउ उत्पादन हुन्छ । तर स्याउ भण्डारणका लागि सुविधासम्पन्न कोल्डस्टोर र बजारीकरणको व्यवस्थापन मुख्य चुनौती देखिएको उनको भनाइ छ ।

गत वर्ष जुम्लाबाट मात्रै झन्डै १२ हजार टन स्याउ जिल्ला बाहिर गएको मन्त्रालयको तथ्यांक छ । यो वर्ष जुम्लामा ४५ देखि ५० रुपैयाँसम्म स्याउको मूल्य निर्धारण गरिएको छ । जुम्लाको सिजा गाउँपालिका–६ का किसान दलबहादुर बुढाले पनि १० हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्दै आएका छन् । यो वर्ष असिनाले गर्दा स्याउ बाँगाटिँगा भएको भन्दै कसरी बेच्ने भन्ने चिन्ता उनलाई छ ।

उनका अनुसार गत वर्ष ४० रुपैयाँ किलोमा स्याउ बिक्री भएको थियो । उनी पनि यो वर्ष कसरी स्याउ बिकाउने भन्ने चिन्तामा छन् । उनले झन्डै ५ सय क्विन्टल स्याउ फलेको अनुमान गरे । ‘हामीलाई स्याउ उत्पादन गर्न कुनै समस्या छैन,’ उनले भने, ‘तर फलेको स्याउ कसरी बजारसम्म सुरक्षित लैजाने र बिक्री गर्ने भन्ने चिन्ता सधैं हुन्छ ।’ स्याउ ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने उनको भनाइ छ ।

कालीकोटमा झन्डै १५ सय, हुम्लामा १ सय ९५, मुगुमा ६ सय र डोल्पामा ९ सय हेक्टरमा स्याउ फलेको मन्त्रालयको तथ्यांक छ । यो वर्ष गत वर्षको तुलनामा गुणस्तरीय स्याउ उत्पादन भएको जुम्लाका कृषि प्राविधिक लोकेन्द्र ओलीले जनाए । ‘परिपक्व दाना, स्वादिलो र रङले भरिएको स्याउको गुणस्तर पनि राम्रो छ, त्यसैले यो वर्ष राम्रो बजार पाउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘दसैंअघि स्याउ बजार पुगे किसानले राम्रो फाइदा गर्न सक्छन् ।’

जुम्लाको स्याउले राम्रो भाउ पाउनै मुस्किल भएको जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन् । ‘सुर्खेत र नेपालगन्जमा १ सय ५० रुपैयाँ किलो स्याउ छ भने किसानले कम्तीमा १ सय रुपैयाँसम्म प्रतिकिलो आम्दानी गर्नुपर्ने हो,’ उनले भने, ‘हिमाली जिल्लामा ढुवानी समस्याले किसानले न राम्रो मूल्य पाएका छन् न उपभोक्ताले सस्तोमा स्याउ खान । फाइदा जति बिचौलियाकै पोल्टामा छ ।’

कर्णाली राजमार्ग पनि बेलाबेलामा अवरुद्ध हुने गरेकाले कर्णालीको उत्पादन बजार पुर्‍याउन कठिनाइ भएको उनको भनाइ छ । बिक्री नभएका स्याउबाट किसानले रक्सी, साइडर र चाना बनाउने गरेका छन् । केही किसानले जुस, जाम र जेली बनाउन थालेको उनले जनाए ।

कर्णालीमा स्याउको खेती र बजारीकरणमा मन्त्रालयका धेरैजसो कार्यक्रम जोडिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माको भनाइ छ । कान्तिपुर

 

तपाईको प्रतिक्रिया