शिक्षणबाट अवकाशपछि सुन्तलाखेती : बर्सेनि पाँच लाख कमाइ

बागलुङ – धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन् । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश पाएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तलाखेतीमा लगाएको १० वर्ष भयो ।

उनी सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख आम्दानी गर्न सफल भएका छन् । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त खड्काले मासिक ३५ हजार पेन्सन बुझ्दै आएका छन् । आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए । उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेका छन् ।

विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सुन्तला यसपटक चितवनमा पुगेका हुन् । दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराखेका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेतीमा समर्पित गराएको बताए ।

ुपरम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तलाखेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष सुन्तला बिक्रीबाट पाँच लाख कमाएको होु, खड्काल भने ।

चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन् । आगामी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ । यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया