स्याङ्जामा मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु

वालिङ -स्याङ्जा जिल्लामा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ। ४५ वर्षीय लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहेर सेवा गर्दै आएका थिए।

लम्सालले आफैं चलाइरहेका लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो स्याङ्जाको पुतलीखेत–सतौं भित्री पक्की सडक खण्ड अन्तर्गत पुतलीबजार नगरपालिका–१४ आम्बोट नजिक दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो। स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी तत्काल जिल्ला अस्पताल स्याङ्जा पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार सडक साँघुरो र घुम्ती भएको भागमा मोटरसाइकल नियन्त्रण बाहिर गएको हुनसक्ने बताइएको छ।

मृतक लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्दछ। कृषिक्षेत्रमा लामो समयदेखि संलग्न लम्साल स्याङ्जा र कास्की जिल्लामा कृषि आधुनिकीकरणका कार्यक्रम र परियोजनामा सक्रिय रूपमा नेतृत्व दिँदै आएका एक दक्ष अधिकृतका रूपमा परिचित थिए।

लम्सालको निधनले स्थानीय कृषक समुदाय, सहकर्मी तथा कृषि कार्यालयमा शोकको माहोल छाएको छ।

तपाईको प्रतिक्रिया