जुम्ला— देशभर तिहार पर्वको रौनक छाउँदै गर्दा जुम्लाका किसान भने खेतमै व्यस्त छन्। हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मार्सी धान अहिले लटरम्मै पाकेपछि किसानहरू बिहान सबेरै खेत पुगेर साँझ ढल्केसम्म धान काट्ने र घर भित्र्याउने काममा तल्लीन छन्।
चन्दननाथ नगरपालिका–२ की स्थानीय लक्ष्मी कुमाईका अनुसार तिहारको तयारी गर्ने फुर्सदै छैन। उनी भन्छिन्, “दसैं सकिएलगत्तै धान पाकेपछि खेतमै व्यस्त भएका छौं, धान काट्न ढिलो भयो भने असिना र हिउँको डर हुन्छ।”
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार मार्सी धान खेतीका लागि जुम्लामा किसानले आफ्नै कृषि क्यालेन्डर अनुसरण गर्छन्। उनका अनुसार, “यहाँ चैत महिनामा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन–भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान भित्र्याउने परम्परा छ। अहिले किसानलाई मौसमले पनि साथ दिएको छ।”
अधिकारीका अनुसार जुम्लामा धानसँगै कोदो, सिमी र फापरजस्ता बर्खेबाली भित्र्याउने चटारो पनि चलिरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा जुम्लामा ३ हजार मेट्रिक टन मार्सी धान उत्पादन भएको थियो, जस मध्ये करिब २५० मेट्रिक टन धान जिल्लाबाहिर निर्यात गरिएको थियो।
हाल २,८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा मार्सी धान लगाउने क्षेत्रफल क्रमशः घट्दै गएको कृषि कार्यालयले जनाएको छ। गत वर्ष १,५०० हेक्टरमा रोपिएको मार्सी धान यो वर्ष घटेर १,२०० हेक्टरमा मात्र खेती गरिएको छ।
अधिकारीका अनुसार अहिले किसानहरूले मार्सी धानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान पनि रोप्ने गरेका छन्।
जुम्ली मार्सी धान जुम्लाको सांस्कृतिक र आर्थिक पहिचानसँग जोडिएको छ। यसको सुगन्ध, स्वाद र पोषणका कारण बजारमा यसको माग उच्च छ। सदरमुकाम खलङ्गामा अहिले मार्सी चामल प्रतिकेजी १८० रुपैयाँमा बिक्री भइरहेको छ।
रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाका अनुसार मार्सी चामल लिन विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू बढी आकर्षित हुन्छन्। उनी भन्छन्, “जुम्ला आएर मार्सी चामल नकिन्ने पर्यटक विरलै भेटिन्छन्।”
स्थानीय किसानहरूका अनुसार समयमै मौसमले साथ दिएमा यस वर्ष पनि उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ। तर क्षेत्रफल घट्दै जानु भने दीर्घकालीन चिन्ताको विषय बनेको छ।

समृद्धि कृषि । ८ कार्तिक २०८२, शुक्रबार २१:२८