बाँदरको हैरानीबीच हेटौंडाका किसानको राहत

हेटौंडा – बाँदरको आतंकले वर्षौंदेखि बाँझो रहेको जमिन अहिले अदुवाको हरियालीले ढाकिएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का किसानले लगाएको अदुवा यस वर्ष छठ पर्वमा बोटसहित प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुँदा किसानहरू उत्साहित भएका छन्।

छठ पर्वमा अदुवाको बोट चढाउने परम्परा भएकाले यस अवधिमा अदुवाको माग असाधारण रूपमा बढ्ने गर्छ। यही अवसरलाई उपयोग गर्दै स्थानीय किसानहरूले व्यापारीलाई सिधै बारीबाटै बोटसहितको अदुवा बिक्री गरेका हुन्।

स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार वीरगन्ज, कलैया, हेटौंडा लगायत सहरका व्यापारीहरू बारीमै पुगेर अदुवा खरिद गरेका छन्।
उनले भने, “अदुवाको बुढी (पुरानो गानो) बिक्रीबाट लगानी उठिसकेको थियो। अहिले बोटसहित राम्रो मूल्यमा बेच्दा मुनाफा भयो।”

उनका अनुसार छठ पर्वका लागि मात्रै उनले एक क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् भने गाउँका किसानहरू मिलेर करिब तीन क्विन्टल अदुवा बिक्री भएको छ।

बाँदरको आतंकपछि वैकल्पिक खेतीतर्फ

हेटौंडाका किसान विगत लामो समयदेखि बाँदरको हैरानीले पीडित थिए। बाँदरले धान, मकै, कोदोजस्ता अन्नबाली नष्ट गर्न थालेपछि किसानहरूले वैकल्पिक रूपमा अदुवा र बेसार खेती सुरु गरेका हुन्।

किसान अञ्जु ढकाल भन्छिन्, “पहिले बाँदरले केही बाँकी राख्दैनथ्यो। अहिले अदुवा र बेसार लगाएपछि बोट राम्रो भएको छ, आम्दानी पनि राम्रो हुन थालेको छ।”

उनका अनुसार अदुवा र बेसारले न केवल बाँदरबाट बाली जोगाएको छ, तर किसानलाई स्थायी आम्दानीको स्रोत पनि बनेको छ। बारीमै व्यापारी पुग्ने, नगद भुक्तानी हुने र जोखिम कम हुने भएकाले किसानको उत्साह बढेको उनले बताइन्।

सरकारी र सहकारीको सहकार्य

किसानलाई अदुवा र बेसार खेतीतर्फ आकर्षित गर्न बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकामार्फत नौलो बिहानी कृषि सहकारीसँग सहकार्य गरेको छ।

सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार मागका आधारमा ७६ जना किसानलाई करिब ५ हजार किलो अदुवाको बिउ वितरण गरिएको छ। त्यस्तै, २९ जना किसानलाई ५०० किलो बेसारको बिउ उपलब्ध गराइएको छ।

उनका अनुसार यस कार्यक्रममा ५० प्रतिशत लगानी प्रदेश सरकार र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ।

आर्थिक राहत र नयाँ सम्भावना

हेटौंडाका किसानका लागि अदुवा खेती आर्थिक राहतको नयाँ विकल्प बनेको छ। बाँदरको त्रासले वर्षौँदेखि बाँझो रहेका खेतहरूमा अब अदुवाको हरियाली देखिन थालेको छ।

छठ पर्वजस्तो अवसरमा अदुवाको उच्च मूल्यले किसानको मनोबल थप बलियो बनाएको छ। बजारमा प्रतिकिलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बिक्री भएपछि किसानले राम्रो नाफा कमाएका छन्।

तपाईको प्रतिक्रिया