सुर्खेत — सोमबार रातिदेखि परेको हिउँदे वर्षाले माथिल्लो कर्णालीका हिमाली जिल्लाहरूमा व्यापक हिमपात र तल्लो कर्णालीका जिल्लाहरूमा अविरल वर्षा भएको छ। यसले एकातिर उच्च भेगमा जनजीवन प्रभावित बनाएको छ भने अर्कातिर किसानहरूको भर्खरै पाक्न लागेको धानबालीमा ठूलो क्षति पु¥याएको छ।
उच्च क्षेत्रमा बाक्लो हिमपात
हुम्ला, मुगु, डोल्पा र जुम्ला जिल्लाको माथिल्लो भागमा मंगलबार बिहानदेखि बाक्लो हिमपात सुरु भएको स्थानीयहरूले बताएका छन्।
हुम्लाको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीलगायत तीन हजार आठ सयदेखि चार हजार दुई सय मिटर उचाइका बस्तीहरूमा तीनदेखि चार इन्चसम्म हिउँ जमिसकेको छ। ताक्ची, लाप्चा, न्यालु, नारा, रलिङ, बोक्सी हिमाल, पञ्चमुखी, चङ्खेली, चाङ्ला र मारघोर क्षेत्र पनि हिमपातले सेताम्मे बनेका छन्।
हिमपातका कारण लिमी र हिल्सा जोड्ने सडकहरू अवरुद्ध भएका छन् भने लाप्चा जाने बाटो पनि बन्द भएको छ। खराब मौसमका कारण हुम्ला सदरमुकाम सिमकोटबाट हुने हवाई उडानसमेत प्रभावित बनेको छ।
नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङभन्दा कम उचाइमा भने बादल मात्र लागेको छ, तर वर्षा भएको छैन। हिमपातसँगै तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको र चिसो बढेको स्थानीयहरूले बताएका छन्।
स्थानीयहरूका अनुसार, यी उच्च हिमाली बस्तीहरूमा अन्नबाली भित्र्याउने काम यसअघि नै सकिएको हुनाले हिमपातले प्रत्यक्ष कृषि क्षति भने पु¥याएको छैन। बरु आगामी जेठासी बाली (उवा, नाफल आदि) छर्नका लागि माटो भिज्न सहज भएको छ।
जुम्लामा वर्षा र हिमपात सँगसँगै
जुम्ला जिल्लाको सिँजा क्षेत्रमा सोमबार रातिदेखि हिमपात र वर्षा सँगसँगै परिरहेको छ।
तातोपानी गाउँपालिका–१, जर्मी, हिमा गाउँपालिका–३, मोफ्ला र चन्दननाथ नगरपालिका–१, तलिचौरका किसानहरूका अनुसार काटेर खेतमा राखिएको कालीमार्सी धान लगातारको वर्षाले भिजाएको छ।
किसान देवकी खत्रीले बताउनुभयो, “धान भित्र्याउने तयारी भइरहेका बेला पानीले भिजाउँदा ठुलो नोक्सानी हुने देखिएको छ।” लगातारको वर्षा र माथिल्लो भागमा परेको हिउँका कारण किसानहरू मर्कामा परेका छन्।
कालीकोटमा खेतमै तैरियो काटेको धान
कालीकोटमा अविरल वर्षाले धानबालीमा ठुलो क्षति पुर्याएको छ।
रास्कोट नगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। केही दिनअघि परेको असिनाले ठाडो धान ढालेको केही दिन नबित्दै फेरि वर्षाले खेतमै काटिएको धान डुबाएको छ।
रास्कोट नगरपालिका–२ की शान्ताकुमारी रोकामगरले भनिन्, “असिनाको डरले छिटो छिटो धान काट्यौँ, तर राति पानी पर्दा काटेका सबै धान पानी खालमा डुबे।”
तिलागुफा नगरपालिकाका केही किसानले रातो मार्सी धान समयमै भित्र्याउन सके पनि अधिकांश किसानको धान भिजेर नोक्सान भएको छ।
शुभकालिका, सान्नीत्रिवेणी, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकामा समेत धानमा क्षति पुगेको प्रहरी र स्थानीय स्रोतहरूले जनाएका छन्।
जाजरकोटमा पनि बेमौसमी वर्षाको असर
जाजरकोटमा सोमबार परेको बेमौसमी वर्षाले पाक्न लागेको र काटेर राखिएको धानमा क्षति पुर्याएको छ।
भेरी नगरपालिका–१, होलुज्युला, नलगाड, कुसे, छेडागाड र शिवालय गाउँपालिकामा खेतमा सुकाउन राखिएको धान वर्षाले भिजाएको छ।
कृषक बबि कार्कीले भने, “धान पाकेर काट्ने बेला पानी परेपछि सबै भिजे, अहिले सुकाउने ठाउँ पनि छैन।”
भेरी नगरपालिका–३ का अर्का कृषक गणेश रोकायाले थपे, “वर्षभरि दुःख गरेर उत्पादन गरेको बाली भित्र्याउने बेला वर्षाले चौपट गर्यो, अब पनि पानी नरोके सम्पूर्ण बाली नष्ट हुन्छ।”
किसानहरूमा निराशा, सरकारले राहतको तयारी गर्नुपर्ने माग
सुर्खेत, कालीकोट, जाजरकोट, मुगु र जुम्लाका अधिकांश किसानहरू हाल चिन्तित छन्। भर्खरै पाकेका धान खेतमै भिजेकाले उत्पादन मात्र होइन, बीउका लागि राखिएका धान पनि नोक्सान हुने खतरा बढेको छ।
कृषि प्राविधिकहरूका अनुसार लगातारको वर्षा र चिसोका कारण धानमा फफूंदी र किरा रोग फैलिने सम्भावना पनि उच्च छ।
स्थानीयहरू सरकारले तत्काल क्षतिको मूल्याङ्कन गरी राहत र पुनःस्थापनाका उपाय ल्याउनुपर्ने माग गरिरहेका छन्।

समृद्धि कृषि । १३ कार्तिक २०८२, बुधबार १९:४६