सुनसरी-कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानहरूलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको छ। जिल्लामा पाक्न लागेको धान, तरकारी, केरा र अन्य बालीहरूमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ। केन्द्रका अनुसार हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब रु. दुई अर्ब ५० करोड बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा करिब ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा यस वर्षको बेमौसमी वर्षाले १४ हजार ४०० हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको छ। उनले भने, “अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी धान हावाहुरी र वर्षाले खेतमै लडाएको छ।”
उनका अनुसार हालसम्म करिब नौ हजार ६०० हेक्टर क्षेत्रफलको मात्र धान काटिएको छ भने बाँकी धान निरन्तरको वर्षा र पानी थामिन नसक्दा कुहिने अवस्थामा पुगेका छन्। सिंहले थपे, “अहिले पनि वर्षा भइरहेकाले काटेर राखिएको धान उठाउन कठिन भइरहेको छ। केही दिनमा घाम लागेपछि पानी सुक्दा केही मात्रामा धान बचाउन सकिएला, तर गुणस्तर भने घट्ने निश्चित छ।”
किसानहरू निराश, जीविकोपार्जन संकटमा
रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेको दुई बिघा खेतमा लगाएको सम्पूर्ण धान वर्षाले नष्ट पारेको छ। उनले भने, “दुई दिनको वर्षाले दुई लाखभन्दा बढीको नोक्सानी भयो। पाकेको धान केही काटेर राखेको पनि वर्षाले कुटेर बिगार्यो।”
घिमिरेका अनुसार यस वर्ष रोपाइँका समयमा पानीको अभाव हुँदा डिप बोरिङमार्फत धान रोपिएको थियो। तर पाक्ने बेलामा परेको वर्षाले सारा मिहिनेत पानीमा बगाएको छ। उनले दुःख व्यक्त गर्दै भने, “हाम्रो जीविकोपार्जन खेतीमै निर्भर छ। अब वर्षदिन कसरी गुजारा गर्ने भन्ने ठूलो चिन्ता छ।”
रामधुनीकै अर्को किसान सुरकुमार राईले नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठाको धान दुवै बेमौसमी वर्षाले नष्ट गरेको बताए। उनले भने, “तरकारी फलिसकेको थियो, धान पनि पाक्ने अवस्थामा थियो। अहिले सबै खेतमै लडेर कुहिने अवस्थामा पुगेका छन्। यही धान र तरकारी वर्षभरि खाने अन्नको व्यवस्था गर्थ्यौँ, अब के गर्ने?”
तरकारी, केरा र कोदोखेतीमा पनि ठुलो नोक्सानी
जिल्लामा आठ हजार १०० हेक्टर क्षेत्रमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशत बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। काँक्रो, परवल, बोडी, घिरौँला लगायतका फलेका तरकारीसँगै बिरुवा समेत नष्ट भएका छन्।
त्यस्तै, ५३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये करिब ८० प्रतिशत बाली वर्षाले बिगारेको छ। केही स्थानमा उखुखेतीमा पनि क्षति पुगेको केन्द्रले जनाएको छ।
कोदोखेतीको हकमा भने क्षति तुलनात्मक रूपमा कम भएको छ। जिल्लामा ४५८ हेक्टर क्षेत्रफलमा हुने कोदोखेतीमध्ये करिब १० प्रतिशत मात्र नोक्सान भएको प्रमुख सिंहले बताए। उनका अनुसार, “कोदोको बोट अलिक होचो र बलियो हुने भएकाले त्यसमा ठूलो क्षति भएन।”
सबैभन्दा बढी क्षति पाँच स्थानीय तहमा
कृषि ज्ञान केन्द्रका अनुसार देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राहा नरसिंह गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। यी क्षेत्रमा धान, केरा र तरकारीखेती ठुलो मात्रामा नष्ट भएका छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले भने, “अहिलेसम्म सङ्कलन भएका विवरण प्रारम्भिक मात्र हुन्। सबै पालिकाबाट क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको छ।”
राहत र पुनःस्थापनाको अपेक्षा
कृषकहरू अहिले तत्कालीन राहत र सहयोगको प्रतीक्षामा छन्। स्थानीय तहहरूले प्रारम्भिक मूल्याङ्कन सुरु गरिसके पनि क्षतिको परिमाण ठूलो भएकाले राहत कार्यमा केन्द्र सरकारको समन्वय आवश्यक हुने देखिएको छ।
सुनसरीमा बेमौसमी वर्षाले किसानहरूको वर्षभरिको मिहिनेत पानीमा बगाएको छ। धान, तरकारी र फलफूल सबै तहसनहस भएपछि किसानहरू जीविकोपार्जनको गम्भीर संकटमा परेका छन्।

समृद्धि कृषि । १७ कार्तिक २०८२, आईतवार १६:३४