हुम्लामा यस वर्ष एक करोडभन्दा बढीको स्याउ बिक्री

हुम्ला – यस वर्ष हुम्ला जिल्लामा स्याउ उत्पादन घटे पनि किसानको आम्दानी भने एक करोड रुपैयाँ नाघेको छ।

हिमाली जिल्ला हुम्लामा यस वर्ष ५० रुपैयाँ प्रतिकेजीको दरले स्याउ बिक्री हुँदा किसानहरूले कुल एक करोड तीन लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन्। कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तका अनुसार यस वर्ष जिल्लाभरि २०७.५० मेट्रिक टन स्याउ बिक्री भएको छ। यो गत वर्षको तुलनामा करिब दुई गुणा कम हो। गत वर्ष तीन करोड दस लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो।

सिमकोट गाउँपालिका–५ की नीता बोहराले यस वर्ष आफ्ना १० बोटबाट ६५० केजी स्याउ फलाएर ५० कार्टुन स्याउ बिक्री गर्न सफल भएको बताइन्। उत्पादन घटे पनि प्रतिकेजी ५० रुपैयाँ मूल्य पाएकाले आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

त्यस्तै, चंखेली गाउँपालिका–३ का हंस बुढाले आफ्नो र छिमेकीको गरी ७५ क्विन्टल स्याउ खरिद गरी बजारमा बिक्री गरेका छन्। उनले प्रतिकेजी ५० रुपैयाँमा बिक्री गरी तीन लाख ७५ हजार रुपैयाँ कमाइ भएको बताए।

यस वर्ष कृषि विकास कार्यालय तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको ७५ प्रतिशत अनुदानमा ४ हजार ५ सय कार्टुन स्याउ बिक्री भएका छन्। अनुदानका कारण किसानलाई स्याउ ढुवानी र बजार व्यवस्थापनमा सहज भएको कार्यालयले जनाएको छ।

उत्पादन घटेपनि बिक्री मूल्य स्थिर रहेको र किसानले अपेक्षा अनुसार आम्दानी गर्न सफल भएको कृषि कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया