सुर्खेत – कुनै समय गाउँघरमा कोदोको ढिँडोलाई गरिबको खानाका रूपमा चित्रित गरिन्थ्यो। चामलको भात धनीको र कोदो–फापरका परिकार गरीबको मानिँदा, ढिँडो खाएको कुरा धेरैले लुकाएर राख्थे। तर केही दशकमै नेपाली समाजमा खाने–संस्कृतिको धारणामा आमूल परिवर्तन आएको छ। स्वास्थ्य चेतनाको वृद्धि, विषादीयुक्त खाद्यवस्तुप्रतिको अविश्वास र सांस्कृतिक पहिचानप्रतिको आकर्षणले गर्दा आज ढिँडो, फापर, च्याख्ला, गुँद्रुकजस्ता रैथाने परिकार उच्च मूल्य र सम्मानसहित उपभोग हुने बनेका छन्।
पहिले गाउँघरमा मात्र सीमित यी परिकार अहिले सहरका ठूला होटल–रेष्टुरेन्टका ‘सिग्नेचर मेन्यु’ बनेका छन्। काठमाडौंका प्रिमियम होटलदेखि पोखरा–चितवनका लोकप्रिय थकाली तथा स्थानीय–परिकार रेष्टुरेन्टसम्ममा रैथाने खाद्यवस्तुको माग तीव्र रूपमा बढेको सञ्चालकहरू बताउँछन्।
लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ भन्छन्,“अब पाहुनाले भात माग्दा पनि मार्सी चामल नै खोज्छन्। नत्र ढिँडो वा स्थानीय गेडागुडी, कालो मास, लोकल साग–सब्जीको थाली रोज्छन्।”उनका अनुसार अहिलेको बजारमा अर्गानिक, रैथाने र विषादी–रहित उत्पादन नै प्रमुख आकर्षण बनेका छन्।
खाद्य तथा पोषण विज्ञ डा. अरुणा उप्रेती भन्छिन्,“पहिले रैथाने खाना खाँदा मानिसले अपहेलना भोग्थे, तर अहिले ठूला–ठूला होटलको मेन्युमै कोदो, फापरका परिकार देखिन थालेका छन्। मधुमेह, उच्च रक्तचापजस्ता रोगबाट जोगिन रैथाने अन्न प्रभावकारी हुने बुझाइ फैलिँदै गएको छ।”
रैथाने अन्नमा कम कार्बोहाइड्रेट, उच्च फाइबर र थप पोषक तत्व हुने भएकाले स्वास्थ्यसम्बन्धी जोखिम कम गर्ने चिकित्सकहरूको सल्लाहले पनि यसको माग बढाएको छ।
केही वर्षअघि व्यापारी दुर्गा प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीलाई मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि मार्सी चामल बजारमा ‘ट्रेंड’ बनेको थियो। सो तस्वीरले मार्सी चामललाई ब्रान्डिङको उचाइमा पु¥यायो, त्यसपछि ‘मार्सी थकाली’ जस्ता व्यवसाय बिस्तारै लोकप्रिय बन्दै गए।
हिमाली चिसो हावापानीमा उत्पादन हुने मार्सी चामलको स्वाद फरक र पौष्टिक हुने भएकाले यसको मूल्य र माग दुवै बढिरहेको व्यापारीहरूको अनुभव छ।
नागार्जुन रिसोर्टका सेफ–सल्लाहकार गोविन्दनरसिंह केसीका अनुसार,“अहिले पाहुनाहरू मात्रै वातावरण र सेवाका लागि होइन, अर्गानिक र रैथाने खाना खोज्दै रिसोर्ट आउँछन्। शहरको भीडभाड छाडेर गाउँ–काँठमा नेपाली परम्परागत खाना खान चाहनेको संख्या उल्लेख्य छ।”
डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्ल भन्छन् कि मानिसहरू विशेष रूपमा ढिँडो, सिस्नु, फापर, गुँद्रुक, लोकल कुखुरा, मार्सी चामल जस्ता परम्परागत भोजनका लागि नै आउने गर्छन्।“पहिले ‘नखानु पर्ने’ मानिने परिकार अहिले आधुनिक ग्राहकका लागि ‘एक्स्पिरियन्स’ बन्न पुगेका छन्,” मल्ल भन्छन्।
अहिले शहर वरिपरिकै पहाडी–काँठ क्षेत्रमा परम्परागत परिकारमा विशेषज्ञता राख्ने रेष्टुरेन्टहरूको बाढी छ। काठमाडौँ, पोखरा, चितवनजस्ता सहरमध्येका थकाली, गुरुङ, तामाङ र अन्य स्थानीय परिकारका रेष्टुरेन्टमा रैथाने भोजनका पारखीहरूको भीड देखिन्छ।
समाजशास्त्रीहरूको बुझाइमा रैथाने खानेकुराको यो पुनरागमन केवल ‘फूड ट्रेन्ड’ होइन, सांस्कृतिक पहिचान र आधुनिक स्वास्थ्य चेतनाको संयोजन हो।पहिले उपेक्षित यी परिकार अहिले गौरव, स्वास्थ्य र मौलिकताको प्रतीक बनेका छन्।

समृद्धि कृषि । ४ मंसिर २०८२, बुधबार १२:२६