बारा -मधेस प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन एमालेका महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेत लगायत शीर्ष नेता बारा आउने सूचना पाएसँगै जेन–जी समूहले सिमरा विमानस्थलमै विरोध प्रदर्शन गरेको छ। काठमाडौँबाट बुद्ध एयरको १०ः३५ को उडान मार्फत नेता सिमरा आइपुग्ने जानकारी पाएपछि प्रदर्शनकारीहरू बिहानैदेखि विमानस्थल परिसरमा जम्मा भएका थिए।
काठमाडौँबाट निर्धारित समयमा धावनमार्गतर्फ अगाडि बढिसकेको बुद्ध एयरको विमान अचानक पार्किङतिर फर्काइएको बुद्ध एयरले जनाएको छ।धावनमार्गमै प्रदर्शनकारी देखिएका कारण उडानमा सुरक्षाजन्य जोखिम देखिएकाले विमान उड्डयन रोकिएको एयरलाइन्सले बताएको छ। विमानमा रहेका सबै यात्रुलाई उत्राएर अर्को सूचना नआएसम्म उडान रोकिएको हो।
महासचिव पोखरेल सहितका नेताहरूलाई सिमरामा उत्रन नदिने भन्दै जेन–जी समूहले प्रदर्शन चर्काएको थियो।प्रहरी स्रोतका अनुसार जेन–जी समूहले एमाले नेताहरू विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दल्ने र बजार घुमाउने योजना बनाएको थियो। सुरक्षाको पर्याप्त व्यवस्था नभएकाले नेताहरूलाई सिमरा नआउन सुझाव दिइएको बताइँदैछ
महासचिव पोखरेल चढेकै विमानबाट सिमरा जाँदै गरेका पत्रकार राजन कुइँकेलले आफूहरूलाई विमानमै रोकिएको र पछि उतारिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
त्यस्तै, सिमरा विमानस्थलमै रहेका पत्रकार वेद भट्टका अनुसार अहिले पनि प्रदर्शनकारीहरू धावनमार्गमै उभिएर विरोध गरिरहेका छन्।
बारा–परवानीपुरमा आयोजना गरिएको एमालेको मधेस प्रदेशस्तरीय युवा भेलाका लागि विभिन्न जिल्लाबाट युवा भेला भइसकेका छन्।
महासचिव पोखरेलले उद्घाटन गर्ने कार्यक्रम भए पनि नेताहरूको आगमनमै संकट परेको छ।

समृद्धि कृषि । ४ मंसिर २०८२, बुधबार १२:४०