
सुर्खेत- सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित दलित समुदायलाई आयआर्जनमा प्रोत्साहन गर्न ४५ वटा बाख्रा र एक खरी जातको बोका वितरण गरिएको छ। डी सि ए को आर्थिक सहयोगमाजीविकोपार्जन सुधारका लागि जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) मार्फत बाख्रा वितरण गरिएको हो।
कार्यक्रम अधिकृत प्रतिभा गैरेका अनुसार प्रत्येक घरपरिवारलाई २० हजार रुपैयाँ बराबरका दुई–दुई वटा बाख्रा प्रदान गरिएको छ। बाख्रा पालना तथा रोग व्यवस्थापनसम्बन्धी तालीम पनि दलित तथा विपन्न परिवारलाई प्रदान गरिएको छ, जसको समन्वय बराहताल गाउँपालिकाको पशु सेवा शाखाले गरेको हो। डीसिएको आर्थिक सहयोगमा सञ्चालित ‘ग्रिन कर्णाली परियोजना’ अन्तर्गत यस वर्ष पनि बाख्रा उपहार कार्यक्रम कार्यान्वयन गरिएको संस्थाले जनाएको छ। गत वर्ष पनि लक्षित समुदायलाई यही कार्यक्रममार्फत बाख्रा वितरण गरिएको थियो।
गैरेका अनुसार, लक्षित समुदायको बाख्रा जोखिम कम गर्न परियोजनाले बाख्रा बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ। साथै, गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी समेत परियोजनाले गरिरहेको जानकारी दिएकीछन ।
उनका अनुसार दलित तथा विपन्न परिवारको आयआर्जन क्षमतामा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरणसँगै बाख्रा पालन, रोग–किरा व्यवस्थापन तथा खोर सुधार सम्बन्धी तालीम पनि प्रदान गरिएको छ। उक्त तालीम बराहताल गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा सम्पन्न गरिएको छ।
गाउँपालिकासँगको सहकार्यमा कार्यक्रम अघि बढाइएको बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले लक्षित वर्गका लागि विशेष आयआर्जनमुखी कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। “कतिपय कार्यक्रम गाउँपालिकाले नै राखेको छ, केही विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालित छन्,” अध्यक्ष भण्डारीले भन्नुभयो। बाख्रा बितरण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष लक्ष्मी पुनको समेत सहमागीता रहेको थियो।
बाख्रा उपहार पाएपछि स्थानीयवासी खुशी भएका छन्। मनकुमारी मिजारले बाख्रा पाएसँगै आत्मबल बढेको बताउँदै समुदायमा चरम गरिबीका कारण दैनिक खर्च धान्नै कठिन हुने गरेको उल्लेख गर्नुभयो। “ज्याला मजदुरी गरेर गुजारा चलाउँछौँ, छोराछोरीलाई स्कुलमा पढाउँदा निकै चुनौती हुन्छ,” उहाँले आफ्नो पीडा सुनाउनुभयो। शोभा सार्कीले पनि नयाँ बस्ती र कमजोर आर्थिक अवस्थाका बीच बाख्रा पाएको राहत र प्रेरणादायी सहयोग भएको बताउनुभयो।
स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ सञ्चालित यस कार्यक्रमले दलित तथा विपन्न बस्तीमा आशा र आयआर्जनको नयाँ मार्ग खुलेको उनीहरूको भनाइ छ।

समृद्धि कृषि । ८ मंसिर २०८२, आईतवार १९:२९