बाँके- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग १ करोड ३८ लाख ९२ हजार ९७३ रुपैयाँको धान खरिद गरेको छ। गत कात्तिक २३ गतेदेखि सुरु भएको धान खरिद प्रक्रिया मङ्सिर ६ गतेसम्म निरन्तर चल्दै आएको हो।
यो अवधिमा कार्यालयले ४ हजार ३२० दशमलव २३ क्विन्टल धान खरिद गरेको सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभयो। जसमध्ये ६९१।९० क्विन्टल मोटा धान र ३६२८।३३ क्विन्टल मध्यम धान खरिद गरिएको छ। मोटा धानका लागि २३ लाख ९६ हजार ६१० रुपैयाँ र मध्यम धानका लागि १ करोड १४ लाख ९६ हजार ३६३ रुपैयाँ भुक्तानी गरी कुल रकम १ करोड ३८ लाख ९२ हजार ९७३ रुपैयाँ पुगेको हो।
हालसम्म ६५५ जना किसानले धान बिक्रीका लागि स्थानीय तहबाट सिफारिस दर्ता गराएका छन्। दर्ता गराएकामध्ये १०५ किसानसँग धान खरिद भइसकेको कार्यालयको जानकारी छ। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल ३४६३।८१ रुपैयाँ र मध्यम धान ३६२८।३३ रुपैयाँ दरले खरिद भइरहेको छ।
कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार नेपालगन्ज कार्यालयलाई यस वर्ष १५ हजार क्विन्टल मोटा र ५ हजार क्विन्टल मध्यम गरी कुल २० हजार क्विन्टल धान खरिद कोटा तोकिएको छ, जुन गत वर्षको तुलनामा आधा हो। “अहिलेसम्म ४३२०।२३ क्विन्टल धान खरिद गरिसकिएको छ,” उहाँले भन्नुभयो, “मध्यम धान ल्याउने किसानको संख्या धेरै भएकाले मध्यम धानको कोटा चाँडै पूरा हुने देखिन्छ। कोटा पूरा भए पनि किसानले चाहेमा मध्यम धानलाई मोटा धानको मूल्यमा खरिद गर्ने व्यवस्था हुनेछ।”
धान जोखाइ तथा तौलाइका लागि हाल दुईवटा काँटा सञ्चालनमा छन् भने मङ्सिर ११ गतेदेखि चार वटा काँटा संचालन गरिने कार्यालयले जनाएको छ। मजदुरलाई प्रतिक्विन्टल ४० रुपैयाँ दरले पारिश्रमिक प्रदान गरिँदै आएको छ। एक किसानबाट बढीमा ४० क्विन्टल धान मात्र खरिद गरिने र भुक्तानी बैंकमार्फत दिने व्यवस्था रहेको छ।
पहिले किसानहरूलाई दिनौँ–दिन लाइन बस्नुपर्ने बाध्यता रहेकोमा यस वर्ष पहिले नै स्थानीय तहको सिफारिस दर्ता गरी तोकिएको समयमा धान ल्याउने व्यवस्था मिलाइएकाले किसानलाई सहज भएको कार्यालयको भनाइ छ।
गत वर्ष नेपालगन्ज कार्यालयले ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो। यस वर्ष धान बिक्रीका लागि किसानहरूको चाप यथावत रहेकाले खरिद प्रक्रिया थप चनाखो रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ।

समृद्धि कृषि । ८ मंसिर २०८२, आईतवार २०:१७