आधुनिक कृषि प्रवर्द्धनमा जोड : कृषि मन्त्री शाह

दैलेख – डुगेश्वर गाउँपालिका र एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाको आर्थिक सहयोगमा एक दिने कृषि मेला तथा प्रदर्शनी सम्पन्न भएको छ। कृषकको श्रम तथा समय बचत गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गरिएको मेलामा आधुनिक कृषि औजार, बाली तथा पशुपालनसम्बन्धी सामग्रीहरू प्रदर्शनी गरिएको थियो।

कृषि मेलाको उद्घाटन कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले गर्नुभएको थियो। उहाँले नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि खाद्यान्न, तरकारी, तेलहनजस्ता सामग्री आयात गर्नुपर्नु दुःखद भएको उल्लेख गर्दै उत्पादन अभिवृद्धि तथा निर्यातमुखी कृषि विकासका लागि तीन तहका सरकारले संयुक्त रुपमा नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

मन्त्री शाहले युवाहरू विदेश रोजगारतर्फ आकर्षित भइरहेका बेला आधुनिक प्रविधियुक्त व्यावसायिक कृषि खेतीतर्फ अभिमुख गराउन प्रदेश तथा स्थानीय सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो। जलवायु परिवर्तनले कृषकहरू प्रभावित भएकाले जलवायु अनुकूलन प्रविधि अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। कृषि पेशालाई सम्मानित पेशाका रूपमा स्थापित गर्न सबै तह–तप्काबाट पहल आवश्यक रहेको बताउँदै उहाँले विषादी नियमनका लागि कर्णाली प्रदेश सरकारले कानुनको मसौदा तयारी गरिरहेकोसमेत जानकारी दिनुभयो।

एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाका कृषि जीविकोपार्जन तथा बजारीकरण अधिकृत ललित थापाले कृषि सामग्री तथा बाली प्रदर्शनीमार्फत कृषकलाई आधुनिक प्रविधि परिचय गराई उत्पादनमा वृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाले जलवायुमैत्री कृषि प्रविधि, एकीकृत शत्रुजीव व्यवस्थापन, पोषण तथा सरसफाइ सुधारमार्फत स्वस्थ र सुखी परिवार निर्माणतर्फ काम गर्दै आएको छ।

मेला सहभागी डुगेश्वर–२ लुकारीका कृषक तेजबहादुर विकले आफ्नै बाली प्रदर्शन गर्न पाएकोमा खुशी व्यक्त गर्दै गाउँपालिकाले कृषकद्वारा उत्पादित सामग्रीको बजार व्यवस्थापनमा विशेष पहल गर्नुपर्ने सुझाव दिनुभयो।

डुगेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकाले कृषि तथा पोषण सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै कृषकलाई जलवायुमैत्री प्रविधि र आवश्यक तालीम प्रदान गरिरहेको बताउनुभयो। मेलामा उत्कृष्ट बाली तथा उत्पादन प्रदर्शन गर्ने कृषकलाई पुरस्कारको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न वडामा फरक–फरक प्रकारका खेती हुने भएकाले माटो परीक्षण गरेर उपयुक्त बाली छनोट गर्न कृषक स्वयं सजग हुन आवश्यक छ।

मेलामा कुटानी–पिसानी मिल, हाते ट्र्याक्टर, मकै खोल्साउने मेसिनलगायतका कृषि मेसिनरी, आलु, साग, सुन्तला, कागती, च्याउ लगायतका बाली तथा कुखुरा, खसीजस्ता पशुपालनसम्बन्धी सामग्रीहरूको प्रदर्शनी गरिएको थियो।

तपाईको प्रतिक्रिया