
सुर्खेत – कर्णाली प्रदेशमा रैथाने तथा उन्नत जातका बीउ संरक्षण र उत्पादन प्रवर्द्धनका लागि ‘एक पालिका–एक सामुदायिक बीउ बैंक’ स्थापना गर्ने तयारी गरिएको छ। कर्णालीका ७९ वटै पालिकालाई बाली तथा खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यसहित प्रदेशस्तरीय नीति संवाद कार्यक्रम बुधबार सम्पन्न भएको हो। कार्यक्रम कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अक्सफाम, ली–बर्ड र सामुदायिक बीउ बैंक संघ नेपालको आयोजनामा गरिएको थियो।
कार्यक्रममा सामुदायिक बीउ बैंकको वर्तमान अवस्था, आवश्यकता र प्रदेशभर विस्तारबारे सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको थियो। छलफलबाट सबै पालिकामा बीउ बैंक स्थापना आवश्यक रहेको निष्कर्ष निकालिएको छ। यसका लागि प्रदेश सरकारले नीतिगत तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
कर्णाली प्रदेशका कृषिमन्त्री विनोद कुमार शाहले एक पालिका–एक सामुदायिक बीउ बैंक अवधारणालाई व्यवहारिक रूपमा लागू गर्न प्रदेश सरकार गंभीर रहेको बताउनुभयो। उहाँले सरकारका प्रयास मात्र पर्याप्त नहुने भन्दै स्थानीय तह, सहकारी, समुदाय र गैरसरकारी निकायहरूको संयुक्त प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “रैथाने बाली संरक्षणमा कर्णाली अघि छ, तर आत्मनिर्भर बन्न सबैको इमान्दार सहयोग आवश्यक छ,” मन्त्री शाहले बताउनुभयो।
कृषि सचिव सञ्जिवकुमार कर्णले सबै कृषकको पहुँचमा रैथाने बीउ पुर्याउन नीति तथा कार्यान्वयन दुवै मोर्चामा प्रदेश सरकार तत्पर रहेको बताए। “सबै स्थानीय तहसँग छलफल गरेर बीउ बैंक स्थापना प्रक्रियालाई अघि बढाइनेछ,” उनले भने।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले प्रारम्भिक चरणमा नमुना पालिकाबाट कार्यक्रम लागू गरी क्रमिक रूपमा विस्तार गर्नुपर्ने सुझाव दिए। मध्यपश्चिम विश्वविद्यालयका डिन प्रा.डा. चन्द्रेश्वर श्रीवास्तवले रैथाने बाली संरक्षण, प्रवर्द्धन तथा अनुसन्धानका लागि सामुदायिक बीउ बैंक अत्यन्त प्रभावकारी माध्यम भएको बताए।
कर्णालीमा केवल दुई बीउ बैंक मात्र संघमा आबद्ध
सामुदायिक बीउ बैंक संघका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठका अनुसार देशभर २९ सामुदायिक बीउ बैंकमध्ये कर्णालीमा दुईवटा मात्र संघमा आबद्ध अवस्थामा छन्। उनले रैथाने बीउको अभिलेखीकरण, संरक्षण र उपभोग वृद्धि आवश्यक रहेको उल्लेख गर्दै बीउ बैंकले किसानको आयआर्जन तथा स्थानीय जैविक विविधता संरक्षणमा ठूलो योगदान गरिरहेको बताए।
कृषि विकास निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जिल्लामा बीउ बैंकको संख्या धेरै भए पनि संघमा नजोडिएकाले कम देखिएको बताए। जलवायु परिवर्तन र जैविक विविधता संकटबढ्दै गएकाले स्थानीय पहलमा बीउ संरक्षण अझै महत्वपूर्ण बन्दै गएको कार्यकारी निर्देशक भरत भण्डारीले बताए।
हाँकु सामुदायिक बीउ बैंक प्रदेशकै नमुना
जुम्लाको तातोपानी–४ स्थित हाँकु सामुदायिक बीउ बैंक कर्णाली प्रदेशकै नमुना बीउ बैंकका रूपमा परिचित बनेको छ। यसले लोपोन्मुख स्थानीय जातहरूको संरक्षण, रातो कोदो र ‘लाल मार्से’ धानको पञ्जीकरण गराउँदै समुदाय तथा बजारमा बीउ आपूर्ति गरिरहेको छ।
बीउ बैंककी अध्यक्ष कविता जैसी पराजुलीले संस्थाले बीउ उत्पादन, खरिद–वितरण, समुदायमा आय वृद्धि, कुटानी–पिसानी सेवा र साना कर्जासहितका बहुआयामिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन्। बैंकले वार्षिक झन्डै २० लाखको कारोबार गर्दै आएको छ।
दैलेखमा पनि उन्नत तरकारी बीउ उत्पादन
दुल्लु दैलेखको पञ्चकोशी समाज सुधार सहकारीले उन्नत तरकारी बीउ उत्पादन गरेर ‘पञ्चकोशी ब्रान्ड’ मा बिक्री–वितरण गर्दै आएको छ। सहकारी अध्यक्ष पूर्णबहादुर शाहीका अनुसार यसबाट सदस्यको आय वृद्धि, बचत परिचालन र स्थानीय बाली संरक्षणमा सकारात्मक प्रभाव परिरहेको छ। सहकारीले दुल्लु नगरपालिकाभर कार्यक्षेत्र विस्तार गर्दै नमुना बीउ बैंकका रूपमा विकसित हुने लक्ष्य राखेको छ।
सरोकारवाला निकायहरूका अनुसार ‘एक पालिका–एक सामुदायिक बीउ बैंक’ कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भए कर्णालीमा रैथाने बाली संरक्षण, बीउ उत्पादन, खाद्यान्न आत्मनिर्भरता र किसानको आय वृद्धि समेत हासिल हुने अपेक्षा गरिएको छ।

समृद्धि कृषि । १२ मंसिर २०८२, बिहीबार ०८:३३