अलैंची टिपाइमा चटारो : ताप्लेजुङका किसानको वर्षकै ठूलो आशा ‘प्रतिमन एक लाख’

ताप्लेजुङ- फक्ताङ्लुङ–५ तापेथोकका सुकबहादुर ताप्मादेन अहिले १५ जना कामदार लिएर लेकतिरका अलैंची बगानतर्फ व्यस्त छन्। भट्टीमा सुकाएर सदरमुकाम फुङ्लिङ पु-याउने हतारो पनि उत्तिकै छ। किसानहरूका लागि जाडो छल्ने तयारीमा तोङ्बा, बाक्लो ओड्नेओच्छ्याउने जति आवश्यक छ, त्यत्तिकै ‘ठीक बेलामा राम्रो भाउ’ पाउनु पनि महत्वपूर्ण मानिन्छ।

ताप्मादेनले खाम्थाक क्षेत्रको निङ्याङ्बा, बुल्बुले र सल्लेरीमा करिब ३ सय रोपनीमा अलैंची खेती गरेका छन्। औल–तमोर किनारका बगानबाट करिब १५ मन अलैंची भण्डारण गरिसकेका उनले यस वर्ष कुल ३५ मन बिक्री गर्ने लक्ष्य राखेका छन्। “फुङ्लिङ पु-याउँदा प्रतिमन एक लाख रुपैँया हात पर्ने आशा छ,” ताप्मादेन भन्छन्।

उत्पादनमा उत्साह, तर मूल्य र बजार अनिश्चित

तापेथोक आसपासका धेरै किसान वर्षमा ३० मनभन्दा बढी अलैंची उत्पादन गर्छन्। किसान रामबहादुर तुम्बाहाङ्फे, सुदिप थक्लुङ, राजीव ताप्मादेनलगायतका किसान वर्षेनी ३०–५० मन उत्पादन गर्दै आएका छन्। मैवाखोला–४ का दातेम्बा शेर्पाले यसवर्ष पाँच मन अलैंची प्रतिमन ९५ हजारमा बेचिसकेका छन्।

तर कहिलेकाहीँ उत्पादन ढलानमा पुग्ने पनि देखिन्छ। ११ रोपनीमा अलैंची लगाउने ६० वर्षीय प्रेमबहादुर तामाङले यसपटक दुई मन मात्रै उत्पादन भएको बताए। उनका छिमेकी भने वर्षेनी ३० मनभन्दा बढी उत्पादन गर्छन्।

अलैंची व्यापारमा बिचौलियाको कब्जा

ताप्लेजुङका ठूला किसानले समेत आफ्नै उत्पादन सीधै बिर्तामोड वा काकडभिट्टा पुर्‍याउन सक्दैनन्। व्यापारीसँग प्रत्यक्ष सम्पर्क नहुँदा र भारतसँग जोडिन नपाउँदा उनीहरू स्थानीय बिचौलियामै निर्भर छन्। भारतीय व्यापारीसँग सीधा व्यापार गर्न खोज्दा पनि स्थानीय व्यापारीबाट ‘नकारात्मक प्रतिक्रिया’ आएको ताप्मादेन बताउँछन्।
“हामीले उठाएको अलैंचीको वास्तविक मूल्य कहिले थाहा पाइँदैन,” ८२ वर्षीय तीलनाथ माबोहाङको गुनासो छ।

कहाँ पुग्छ ताप्लेजुङको अलैंची ?

नेपालमा व्यावसायिक रूपमा अलैंची खेती सुरु भएको झण्डै तीन दशकभित्रै पूर्वी पहाडका जिल्लामा यसको प्रमुख उपज बन्न सफल भयो। तर भारतमार्फत बाहिरी बजारमा जाने अधिकांश अलैंची ‘भारतीय उत्पादन’ भनेर ब्रान्डिङ हुने गरेको व्यापारीहरू बताउँछन्।

सन् २०२३–०२४ मा भारतले १,२८१ टन अलैंची निर्यात गरेको तथ्याङ्क छ। भारतीय बजार हुँदै युएई, साउदी, कुवेत, क्यानाडा, अमेरिका, बेलायतलगायत देशमा निर्यात हुन्छ। अलैंची कफी, चिया, मिठाई, औषधी, सुगन्धित तेल र अत्तर उद्योगमा व्यापक प्रयोग हुन्छ।

मूल्य कसले निर्धारण गर्छ ?

अलैंची व्यवसायी महासंघ कोशी प्रदेश संयोजक बालमणि बरालका अनुसार मूल्य निर्धारणमा भारतलाई दोष मात्र दिएर पुग्दैन।
“नेपाल सरकारले प्रशोधन केन्द्र, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङको व्यवस्था नगर्दा किसान आफैं मूल्य निर्धारण गर्न सकेका छैनन्,” बराल भन्छन्।
यो व्यवस्था भए नेपालकै अलैंची प्रतिमन साढे दुईदेखि तीन लाखसम्म पुग्न सक्ने उनको दाबी छ।

उत्पादनमा अलि-अलि गिरावट

कोशी प्रदेशमा ७,५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैंची खेती हुन्छ। आर्थिक वर्ष ८१/८२ मा काकडभिट्टा नाकामार्फत ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैंची भारत निर्यात भएको मेची भन्सारको अभिलेखले देखाउँछ।
तर पछिल्ला वर्ष खेती विस्तार भए पनि उत्पादन भने केही घट्दो छ— ७,७६३ मेट्रिक टनबाट झरेर ७,५८२ मेट्रिक टनमा।

किसानको आम्दानी बढे पनि जोखिम उच्च

अलैंची अहिले अधिकांश परिवारको आर्थिक मेरुदण्ड जस्तै बनेको छ। पक्की घरदेखि बालबालिकालाई महंगा कलेज पठाउनसम्म अलैंचीको आम्दानीले सम्भव भएको स्थानीयहरू बताउँछन्।
तर माटो, रोग, बजार—हरेक किसिमको जोखिम त्यसैसँग गाँसिएको छ।
“अचानक रोग लागे के गर्ने ? भारतले नाकामा रोकिदियो भने? अर्को नगदेबाली नहुँदा जोखिम झनै बढी छ,” मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेम चिन्ता व्यक्त गर्छन्।

ताप्लेजुङ : अलैंचीको ‘राजधानी’

प्रदेश संयोजक बरालका अनुसार नेपालका ४८ जिल्लामा अलैंची खेती हुन्छ, तर देशभर उत्पादनको ४८ प्रतिशत ताप्लेजुङमै हुन्छ।
जिल्लाका ६१ वडामध्ये ओलाङचुङ्गोला बाहेक ६० वडामा व्यावसायिक अलैंची खेती हुन्छ। ताप्लेजुङमा मात्रै वार्षिक २,५००–३,००० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान छ। मूल्य एक लाख प्रतिमन पुगेका वर्ष कारोबार करिब ६ अर्ब रुपैयाँ नाघ्छ।

तपाईको प्रतिक्रिया