कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएकाहरूलाई उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा तथा प्रदेशसभा लगायत आगामी निर्वाचनका लागि उम्मेदवार नबनाउने निर्णय गरेको छ। पार्टीले सोमबार मातहतका सबै संरचनालाई परिपत्र जारी गर्दै यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवारको सूचीमा नसमावेश गर्न स्पष्ट निर्देशन दिएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा ‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने’ उल्लेख छ।

पार्टीले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ, साथै राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै परिपत्र पठाएको छ।

यो कदम सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुरूप भएको पार्टीले स्पष्ट पारेको छ। पार्टी विधानअनुसार उम्मेदवार सिफारिस प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले परिपत्र जारी गरिएको मुख्यसचिव पौडेलले बताएका छन्।

तपाईको प्रतिक्रिया