सल्यान — कोसेली घर निर्माणको लक्ष्यसहित सल्यानमा शुक्रबारदेखि दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु भएको छ। जिल्लाको प्रमुख व्यावसायिक केन्द्र श्रीनगरमा आयोजित महोत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले गर्नुभएको हो।
उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरण गरी आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव आगामी माघ ११ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा प्रदेश प्रमुख जोशीले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा महोत्सवले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय उद्यमी, कृषक तथा युवालाई आर्थिक गतिविधिमा सक्रिय बनाउँदै आत्मनिर्भरता हासिल गर्न महोत्सवले सहयोग गर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सल्यानमा उत्पादित वस्तुको प्रदर्शन तथा बिक्री वितरणमा महोत्सवले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो। हरेक विषयलाई नकारात्मक दृष्टिले मात्र हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले सकारात्मक र नकारात्मक दुवै पक्षको सम्यक् मूल्याङ्कन आवश्यक रहेको धारणा राख्नुभयो।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो। सल्यान त्यस दिशातर्फ अघि बढिरहेको बताउँदै उहाँले प्रदेश सरकारको सहयोग निरन्तर रहने स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रदेशसभा सदस्य भिमप्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही लगायत विभिन्न क्षेत्रका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
आयोजकका अनुसार महोत्सवमा करिब ७७ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ भने साढे १२ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ। कृषकका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। साथै उत्कृष्ट कृषक तथा उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा सम्मान तथा पुरस्कृत गरिने जनाइएको छ।

समृद्धि कृषि । २६ पुष २०८२, शनिबार १९:४९