काठमाडौं – स्थापनाको आठ दशक पूरा गरेको नेपाली कांग्रेस तेस्रो पटक विभाजनको संघारमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा आह्वान गरिएको विशेष महाधिवेशनको तेस्रो दिन नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएसँगै सहमतिको सम्भावना झनै कमजोर बन्दै गएको छ ।
आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको सहभागिता रहेको आयोजक पक्षको दाबी छ । बन्दसत्रले कार्यविधिसँगै महामन्त्रीद्वयका प्रस्ताव पारित गरेको छ भने पुरानो निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समितिले औपचारिक रूपमा काम सुरु गरिसकेको छ ।
सहमतिको प्रयासस्वरूप दिनभर त्रिपक्षीय छलफल भए पनि निष्कर्ष ननिस्किएपछि महामन्त्री गगन थापाले विशेष महाधिवेशनको हल बाहिर हुने कुनै पनि निर्णय नमान्ने स्पष्ट पारेका छन् । मंगलबार साँझ बन्दसत्रलाई सम्बोधन गर्दै उनले बाहिर सहमति भए पनि त्यसलाई विशेष महाधिवेशनको हलले अनुमोदन गर्नुपर्ने बताए ।
‘अब बाहिरको कुराले हुँदैन । यो हलले नै सबै विषयको निर्क्यौल गर्नुपर्छ,’ थापाले भने । उनले आफूहरू पार्टीभित्र विद्रोहमा नभई नीति र नेतृत्व परिवर्तनको चाहनासहित विशेष महाधिवेशनमा आएको उल्लेख गर्दै यसलाई उपलब्धिपूर्ण ढंगले टुंग्याउनुपर्ने बताए ।
भृकुटीमण्डपमा बन्दसत्र सकिएसँगै निर्वाचन कार्यक्रम सुरु भइसकेको छ । निर्वाचन समितिले मनोनयन दर्ता थालेपछि सहमतिको सम्भावना झनै झिनो बन्दै गएको छ । बन्दसत्रले विधान पारित गर्दै जनसम्पर्क समितिका तर्फबाट प्रत्येक महादेशबाट एक जना केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । विधान संशोधन गर्दै चुनावी प्रक्रिया अगाडि बढाइएपछि विभाजनको आशंका बढेको नेताहरूको बुझाइ छ ।
यता, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । सहमति जुटेमा त्यसलाई अनुमोदन गर्ने, अन्यथा महामन्त्रीद्वयमाथि अनुशासनको कारबाही गर्न सकिने सम्भावना रहेको बताइन्छ । यस्तो परिस्थितिमा पार्टी विभाजन नजिकिँदै गएको कांग्रेस नेताहरूको विश्लेषण छ ।
कांग्रेसका एक पदाधिकारीले भने, ‘बन्दसत्र, वार्ता र सानेपामा भइरहेका गतिविधि हेर्दा अब सहमतिको सम्भावना निकै क्षीण देखिन्छ । पार्टी विभाजनको खतरा बढेको छ ।’

समृद्धि कृषि । २९ पुष २०८२, मंगलवार १९:४८