मुस्ताङ – उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा चिसो बढ्दै गए पनि च्याङ्ग्रापालन व्यवसाय भने निरन्तर चलिरहेको छ । छोसेरस्थित ऐतिहासिक ‘झोङ्ग’ गुफाको पछाडिको पहाडमा कृषक आङ्ग्याल गुरूङका करिब ७ सय च्याङ्ग्राको बथान चरिरहेका छन् ।
तापक्रम ऋणात्मकमा झरे पनि १९ वर्षदेखि च्याङ्ग्रा पालन गर्दै आएका गुरूङ दैनिक गोठालासहित चरन क्षेत्रमा पुग्ने गर्नुहुन्छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाकासम्म फैलिएको चरन क्षेत्र व्यवस्थापनमै उहाँको अधिकांश समय बित्ने गरेको छ । समुद्री सतहदेखि करिब ४ हजार ७ सय मिटर उचाइसम्म छोसेर क्षेत्रका च्याङ्ग्रापालक कृषकका गोठहरू रहेका छन् । गुरूङले वार्षिक रूपमा १ करोड रुपैयाँभन्दा बढी मूल्यका च्याङ्ग्रा बिक्री गर्दै आउनुभएको छ ।
कठोर हावापानीमा हुर्किने च्याङ्ग्रालाई चरन क्षेत्रमै गोठ बनाएर गोठालाको जिम्मा लगाइने गरिन्छ । कृषक गुरूङका अनुसार यस वर्ष अत्यधिक जाडो भए पनि हिमपात नपरेका कारण चरन क्षेत्रमा घाँस उपलब्ध छ ।
“हिउँ नपरेकाले चरन सहज भएको छ,” उहाँले भन्नुभयो ।
तर, चरन क्षेत्रमा रहेका च्याङ्ग्रालाई हिउँचितुवा र हिमाली ब्वाँसोको जोखिम भने बढ्दो छ । कृषक निमा गुरूङका अनुसार माथिल्लो क्षेत्रबाट झरेका हिउँचितुवा र ब्वाँसोले च्याङ्ग्रालाई सताउने गरेका छन् । विगत करिब पाँच वर्षयता पुस–माघमा पनि हिमपात नहुँदा चरन व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ । यसका कारण पशुपालक कृषकहरूले जाडोयाममा बजारबाट दाना खरिद गरी च्याङ्ग्रालाई खुवाउन थालेका छन् ।
उपल्लो मुस्ताङका १० भन्दा बढी कृषकसँग ठूलो सङ्ख्यामा च्याङ्ग्रा रहेकाले पुस र माघ महिनामा पनि अधिकांश बथान चरन क्षेत्रमै राख्ने गरिएको छ । जाडोयाममा गोठालालाई टिकाइराख्न मासिक ज्याला बढी दिनुपरेको कृषक छिङ्मी गुरूङले बताउनुभयो । उहाँका अनुसार चिसोका कारण गोठाला पाउन कठिन हुँदै गएको छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार अत्यधिक चिसो र सम्भावित हिमपातका कारण बिरामी पर्ने जोखिमलाई ध्यानमा राख्दै केही च्याङ्ग्रालाई बस्ती नजिकैका चरन क्षेत्रका गोठमा राखिएको छ । कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिकामा करिब १३ हजार र लोमान्थाङ गाउँपालिकामा करिब १० हजार च्याङ्ग्रा छन् । लोघेकर दामोदरकुण्डको चराङमा च्याङ्ग्रा स्रोतकेन्द्रसमेत सञ्चालनमा छ ।
डा. अर्यालका अनुसार माथिल्लो क्षेत्रमा हिमपात नभएका चरन क्षेत्रमा अधिकांश च्याङ्ग्रा छोड्ने गरिएको छ । थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकातर्फ भने माथिल्लो क्षेत्रबाट झारिएका च्याङ्ग्रालाई बेंसीतिर पर्याप्त चरन र उपचारको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार जिल्लाभरका १ सय सूचीकृत कृषकका गोठबाट गत दशैं–तिहारमा मात्रै ३६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको भेडा–च्याङ्ग्राको कारोबार भएको थियो । उच्च हिमाली भेगमा जडीबुटी खाएर हुर्किएका भेडा–च्याङ्ग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि लाभदायी मानिने भएकाले यसको माग निरन्तर बढ्दो छ ।

समृद्धि कृषि । २९ पुष २०८२, मंगलवार १९:५७