जुम्लामा स्याउ बगैँचा काँटछाँट सुरु

जुम्ला – जुम्लामा गुणस्तरीय स्याउ उत्पादन वृद्धि गर्ने उद्देश्यसहित स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । किसानलाई स्याउका बिरुवा काँटछाँट र बगैँचा व्यवस्थापनसम्बन्धी व्यावहारिक सिप प्रदान गर्ने लक्ष्यसहित अभियान थालिएको हो ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास), चन्दननाथ नगरपालिका र कृषि विकास कार्यालय जुम्लाको संयुक्त आयोजनामा अभियान सुरु गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । बोटबाट फल टिपिसकेपछि यही समय स्याउका बिरुवाको काँटछाँटका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार अहिले स्याउका बिरुवा सुसुप्त (डोर्मेन्ट) अवस्थामा रहने भएकाले काँटछाँट गर्न अत्यन्त प्रभावकारी हुन्छ । “यही समय सही ढंगले काँटछाँट गर्न सके उत्पादन र गुणस्तर दुवै बढाउन सकिन्छ,” उहाँले भन्नुभयो । यही कारण किसानको बगैँचामै पुगेर स्याउ बगैँचा व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

अभियानअन्तर्गत काँटछाँट, सिँचाइ व्यवस्थापन र मलखादको मात्रा मिलाउने विषयमा प्रत्यक्ष अभ्यास गराइँदै छ । साथै स्याउमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि निलोतुथो र चुनाको प्रयोगबारे पनि किसानलाई सिकाइँदै छ । कार्यालयले जिल्लाका आठ वटा स्थानीय तहका ६० वडामध्ये ३० वडामा रहेका सबै स्याउ बगैँचामा पुगेर किसानलाई सिप हस्तान्तरण गर्ने तयारी गरेको छ । यसअघि सुर्खेतमा केन्द्रित यस्ता कार्यक्रमलाई अहिले किसानको बगैँचामै पु¥याइएको हो ।

जुम्लामै तालिम सञ्चालन गरिएकाले जिल्लाका आठ वटै स्थानीय तहका कृषि प्राविधिकहरूले स्याउ काँटछाँटसम्बन्धी आवश्यक सिप हासिल गरेको कृषि विकास कार्यालयले जनाएको छ । चन्दननाथ नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष वृष गिरीले किसानको बगैँचामै पुगेर ज्ञान र सिप प्रदान गर्ने अभियानले गुणस्तरीय स्याउ उत्पादन वृद्धि गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो ।

जुम्लामा हाल ४ हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष मात्रै १७ हजार ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । जुम्लाबाट यस वर्ष ३१ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया