काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पहाडी तथा हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गर्ने तयारी गरिएको जानकारी दिए। उनले पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम आउने विश्वास व्यक्त गरे।
उनका अनुसार समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढाइनेछ र सोतर्फको नतिजा समेत छिट्टै सार्वजनिक गरिनेछ।
निर्वाचनको मिति घोषणा भएपछि युवामा उत्साह थपिएको उल्लेख गर्दै भण्डारीले यसपटक अघिल्ला निर्वाचनको तुलनामा मत खस्ने प्रतिशत बढ्ने र बदर मतको संख्या घट्ने अपेक्षा गरिएको बताए।

समृद्धि कृषि । २० फाल्गुन २०८२, बुधबार १९:०३