जुम्लामा युवाको नयाँ रोजाइ: रेन्बो ट्राउट माछापालनतर्फ बढ्दो आकर्षण

जुम्ला — परम्परागत कृषि पेशासँगै नयाँ सम्भावनाको खोजीमा रहेका जुम्लाका युवाहरू पछिल्लो समय माछापालनतर्फ आकर्षित हुन थालेका छन्। आत्मनिर्भर बन्ने लक्ष्यसहित केही युवाले व्यावसायिक रूपमा माछापालन सुरु गरेका छन्, जसले जिल्लामा रोजगारी र आम्दानीको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

चन्दननाथ नगरपालिका–१० का देवन्द्रराज गिरी र वडा नम्बर ६ का दिल्लीबहादुर रावल विगत छ वर्षदेखि रेन्बो ट्राउट जातका माछापालनमा सक्रिय छन्। उनीहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर माछापालन सुरु गरेका थिए। त्यसबेला प्रतिगोटा भुरा १९ रुपियाँमा खरिद गरिएको थियो।सुरुवाती वर्ष अनुभव सङ्कलनमै बित्यो। दोस्रो वर्षदेखि केही मात्रामा उत्पादन बिक्री गर्न सफल भए पनि हालसम्म अपेक्षित आम्दानी भने हुन सकेको छैन। हाल उनीहरूले पोखरीमा करिब डेढ क्विन्टल माछा राखेका छन् भने ९० हजारभन्दा बढी भुरा छोडिसकेका छन्।

बजारमा रेन्बो ट्राउट माछा प्रतिकिलो करिब १,८०० रुपियाँमा बिक्री हुने गरे पनि उनीहरूले प्रतिस्पर्धात्मक मूल्यमा १,३०० रुपियाँ प्रतिकिलोमा बिक्री गर्दै आएका छन्। निर्माण गरिएको एउटा ठूलो पोखरीमा पाँच वटा क्यानल छन्, जहाँ प्रत्येक क्यानलबाट करिब डेढ क्विन्टलसम्म उत्पादन हुने गरेको छ।गिरीका अनुसार प्रारम्भमा घरनजिकैको नाउलोमा परीक्षणका रूपमा माछा छाडिएको थियो। तर अत्यधिक चिसो र हिउँका कारण सबै माछा मरेपछि उनीहरूले इन्टरनेटमार्फत अध्ययन गरी चिसो हावापानीमा अनुकूल हुने रेन्बो ट्राउट रोजेका हुन्।

हालसम्म माछापालन, भुरा खरिद, दाना व्यवस्थापन र संरचना निर्माणमा ५० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको छ। भविष्यमा माछापालन स्थलमै होटल सञ्चालन गर्ने योजना समेत बनाइएको छ, जसका लागि १० वर्षका लागि जग्गा भाडामा लिइएको छ।उत्पादित माछा हाल खलङ्गा र आसपासका बजारमा खपत भइरहेको छ। उत्पादन बढाउन सकेमा सुर्खेत, नेपालगञ्ज, मुगु र कालीकोटसम्म बजार विस्तार गर्ने योजना रहेको रावलले बताए।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जिल्लामा माछापालनसम्बन्धी विशेषज्ञ जनशक्ति अभाव रहेको छ। प्राविधिक सहयोग सीमित भए पनि किसानबीच ज्ञान आदानप्रदान गर्दै काम अघि बढिरहेको उनले जानकारी दिए।जुम्लामा माछापालनको सम्भावना बढ्दै गएको देखिएको छ। आवश्यक प्राविधिक सहयोग र बजार व्यवस्थापन सुदृढ गर्न सके यस क्षेत्रले रोजगारी सिर्जना र आम्दानी वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया