बाजुरामा स्याउ खेतीप्रति किसानको आकर्षण बढ्दो

बाजुरा — जिल्लाका अधिकांश किसानमा पछिल्लो समय स्याउ खेतीप्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म बिक्री हुन थालेपछि किसानको चासो बढेको हो।

पहिले सडक सुविधा अभावका कारण किसानहरू स्याउ खेतीतर्फ खासै आकर्षित थिएनन्। उत्पादन बजारसम्म पुर्‍याउन कठिन हुँदा स्याउ खेतीबाट अपेक्षित आम्दानी हुन सकेको थिएन। तर अहिले सडक पहुँच विस्तार भएसँगै ढुवानी सहज बनेको छ, जसले स्याउ खेतीलाई व्यवसायिक रूपमा अघि बढाउन सहयोग पुगेको छ।बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतका अनुसार सडक सुविधा विस्तारले किसानको जीवनयापनमा सकारात्मक परिवर्तन ल्याएको छ। “पहिला गाउँमा सडक थिएन, गाडी आउँदैनथ्यो। अहिले घरआँगनमै गाडी आउन थालेपछि उत्पादन गरिएको स्याउ बजारमा बिक्री गर्न सजिलो भएको छ,” उहाँले भन्नुभयो।

पहिले धान, गहुँ, जौलगायतका अन्नबालीमा निर्भर रहेका किसान अहिले स्याउ खेतीतर्फ आकर्षित भएका छन्। स्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि धेरैले अन्नबालीको ठाउँमा स्याउ रोप्न थालेका छन्।जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदह क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। तीमध्ये बडिमालिका नगरपालिका–९ र १० को पाण्डुसैन क्षेत्र स्याउ उत्पादनका लागि प्रमुख मानिन्छ।

पछिल्लो समय गौमुल, बडिमालिका र बुढीगङ्गा नगरपालिकामा पनि स्याउ खेती विस्तार हुँदै गएको छ। यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशका विभिन्न सहरमा पुग्न थालेका छन्।कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। “पहिले उत्पादन भएको स्याउ बिक्री नहुँदा किसानले गाई–गोरुलाई खुवाउनुपर्थ्यो। अहिले भने ढुवानी अनुदानका कारण स्याउ देशका विभिन्न सहरमा बिक्री हुन थालेको छ,” उहाँले भन्नुभयो।

पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुने बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातका स्याउ पनि उत्पादन हुन थालेका छन्। गत वर्ष जिल्लामा करिब एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएकोमा झन्डै ६ सय मेट्रिक टन स्याउ विभिन्न सहरमा बिक्री गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।सडक पहुँच, ढुवानी सुविधा र बजार विस्तारसँगै बाजुरामा स्याउ खेतीको सम्भावना अझै बढ्दै जाने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया