केराको मूल्य दोब्बर नजिक, उपभोक्ता मारमा

काठमाडौं — पछिल्लो समय बजारमा केराको मूल्य उल्लेखनीय रूपमा बढेर उपभोक्ता मारमा परेका छन्। गत वर्ष प्रतिदर्जन औसत १५० रुपैयाँमा पाइने केरा अहिले थोकमै २२५ रुपैयाँ पुगेको व्यवसायीहरूले बताएका छन्।

कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँका अनुसार थोक मूल्य नै उच्च भएपछि खुद्रा बजारमा यसको असर अझ बढी देखिएको छ। “होलसेल मूल्यकै अवस्था यस्तो छ भने खुद्रा मूल्य कस्तो होला?” उनले भने। हाल खुद्रा बजारमा एक दर्जन केरा २५० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको छ।

व्यवसायीहरूका अनुसार भारतीय केरामा लगाइएको प्रतिबन्ध नै मूल्य वृद्धिको मुख्य कारण हो। वैधानिक रूपमा आयात बन्द भए पनि पछिल्ला चार–पाँच महिनादेखि अवैध रूपमा केही केरा बजारमा भित्रिरहेको उनीहरू बताउँछन्। तर यस्तो आपूर्ति नियमित नभएकाले मूल्य नियन्त्रण हुन सकेको छैन।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रोशन अधिकारीका अनुसार ‘टीआर–४’ नामक खतरनाक रोगका कारण असोज २ गतेदेखि केरा आयातका लागि प्रवेश अनुमति पत्र दिन बन्द गरिएको हो। चितवनसहित विभिन्न जिल्लामा यो रोग देखिएपछि यसको स्रोत पहिचान गर्न आयात रोकिएको उनले जानकारी दिए।

उनका अनुसार ‘बिरूवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४’ अनुसार बिरूवा तथा बिरूवाजन्य उपज आयात गर्न अनिवार्य रूपमा अनुमति लिनुपर्छ। टीआर–४ रोग फैलिने जोखिम उच्च रहेकाले तत्काल अनुमति खुला गर्ने अवस्था नरहेको उनले बताए। “यो रोग व्यापक रूपमा फैलियो भने देशभरको केरा बाली नै नष्ट हुन सक्छ,” उनले भने।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाका अनुसार काठमाडौंका बजारमा करिब ५० प्रतिशत केरा भारतीय देखिएको छ, जुन अवैध रूपमा भित्रिएको हुन सक्ने अनुमान गरिएको छ। अन्य सहरहरूमा भने स्वदेशी केरा नै बढी बिक्री भइरहेको उनले बताए।

नेपालमा वार्षिक करिब ३ लाख ८२ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने करिब ६० हजार मेट्रिक टन भारतीय केरा आयात हुने गरेको छ। उत्पादन वर्षभरि भए पनि समयअनुसार फरक हुने भएकाले आपूर्ति असन्तुलन देखिन्छ। साउनदेखि कात्तिकसम्म उत्पादन बढी हुने भए पनि मंसिरदेखि फागुनसम्म घट्ने गर्दछ।

हालको अवस्थामा किसानले केही राम्रो मूल्य पाए पनि उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य भएको सरोकारवालाहरू बताउँछन्। बजार अनुगमन र सीमामा कडाइ नगरेसम्म मूल्य नियन्त्रणमा आउन कठिन देखिएको छ।

तपाईको प्रतिक्रिया