तरकारी–फलफूलको मूल्यमा तीव्र उतारचढाव, केही वस्तु ४ गुणासम्म महँगिए

काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति को तथ्यांकअनुसार २०८२ मङ्सिर १ देखि २०८३ वैशाख १ सम्मको ६ महिनाको अवधिमा तरकारी तथा फलफूलको थोक मूल्यमा ठूलो उतारचढाव देखिएको छ। विश्लेषणले केही वस्तुमा ४ गुणासम्म मूल्य वृद्धि भएको देखाएको छ

व्यापारीहरूका अनुसार तरकारी तथा फलफूलमा सिजनअनुसार मूल्य घटबढ हुनु सामान्य भए पनि हाल पश्चिम एसियामा जारी द्वन्द्वका कारण ढुवानी खर्च बढ्दा मूल्यमा थप चाप परेको छ।यस अवधिमा सबैभन्दा धेरै महँगिने तरकारी स्कूस देखिएको छ। पुस महिनामा प्रतिकेजी १२ रुपैयाँ रहेको स्कूस वैशाख १ मा ५५ रुपैयाँ पुगेको छ, जुन ३५८.३३ प्रतिशतको वृद्धि हो।

हरियो सागपातको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। फागुनमा २५ रुपैयाँ रहेको चमसूरको साग २८० प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ। पालुङ्गो साग र हरियो डल्लो फर्सीमा समेत करिब २०० प्रतिशत वृद्धि भएको छ।
गर्मी सुरु भएसँगै कागती र फलफूलको मूल्यमा पनि तीव्र उछाल देखिएको छ। माघमा ९० रुपैयाँ रहेको कागती वैशाखमा २९६.६७ रुपैयाँ पुगेको छ, जुन २२९.६३ प्रतिशत वृद्धि हो। फलफूलतर्फ केराको मूल्य २०० प्रतिशतले बढ्दा आभोकाडो १५४.५५ प्रतिशतले महँगिएको छ। मङ्सिरमा २७५ रुपैयाँ रहेको आभोकाडो वैशाखमा ७०० रुपैयाँ पुगेको छ।

भान्सामा अत्यावश्यक हरियो खुर्सानीको मूल्य १८०.९४ प्रतिशतले बढेको छ भने भेडे खुर्सानी १२७ प्रतिशतले महँगिएको छ। सिमी समूहमा तने बोडी २१४.२९ प्रतिशत र टाटे सिमी १९३.३३ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, ५० देखि १०० प्रतिशतसम्म मूल्य वृद्धि भएका वस्तुहरू पनि उल्लेखनीय छन्। राजमा सिमीको मूल्य ८४.६२ प्रतिशतले बढेर १२० रुपैयाँ पुगेको छ। तोरी साग र रायो साग क्रमशः ७५ र ५३ प्रतिशतले महँगिएका छन्।

जिरीको साग, मटरकोशा लगायतमा पनि ५० प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।फलफूलतर्फ भुईँ कटहर ८० प्रतिशतभन्दा बढीले महँगिएको छ भने किवीको मूल्य ५३.०६ प्रतिशतले बढेर ३७५ रुपैयाँ पुगेको छ।यस तथ्यांकले बजारमा सिजन, आपूर्ति र अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले तरकारी तथा फलफूलको मूल्यमा ठूलो अस्थिरता देखिएको स्पष्ट पार्छ।

तपाईको प्रतिक्रिया