दैलेख — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दैलेखको नौमुले गाउँपालिकामा कर्णाली लोकनृत्य तथा सांस्कृतिक सम्मिलन सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको कार्यक्रम शुक्रबारदेखि सुरु भई विधिवत रूपमा समापन गरिएको हो।
कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा यस्तो कार्यक्रम आयोजना हुनु कला–संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भएको बताउनुभयो। कार्यक्रमको अध्यक्षता प्राज्ञ सदस्य तथा नृत्य विभाग प्रमुख बखत हमालले गर्नुभएको थियो।
सम्मिलनमा कर्णाली प्रदेशका १० मध्ये सात जिल्लाबाट लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक तथा झाँकी प्रस्तुत गरिएका थिए। मुगुबाट ‘चम्पा’ लोककथामा आधारित नृत्य, दैलेखबाट राउटे नाच तथा दुल्लुदराको माझखण्डबाट धमारी नाच प्रस्तुत गरिएको थियो। जुम्लाबाट खाँडो नाचसँगै कर्णालीको कथा बोकेको लोकनाटक प्रस्तुत हुँदा जाजरकोटले वीरता र युद्धकला झल्कने खाँडो नाच प्रदर्शन गरेको थियो।
यसैगरी, सल्यानको दार्मा गाउँपालिकाबाट सल्यानी टप्पा, सुर्खेतबाट झ्याउरे नृत्य तथा कालिकोटबाट हुड्क्यौलीसहित देउडा खेल प्रस्तुत गरिएको थियो। आयोजक नौमुले गाउँपालिकाबाट मारुनी, सोरठी तथा पञ्चेबाजासहित नयाँ पुस्ताका लोकप्रिय गीतहरूमा आधारित प्रस्तुति समेत देखाइएको थियो।
कार्यक्रममा कर्णालीको लोकनृत्य र संस्कृतिबारे अध्येता राजबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्रमाथि प्राज्ञ सदस्य मधुसुधन गिरी र लोकनृत्यसम्राट कुलमान नेपालीलगायतले टिप्पणी गर्नुभएको थियो।
सम्मिलनमा प्रदेशस्तरीय कलाकारसँगै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको पनि प्रस्तुति रहेको थियो। कार्यक्रममा टिका पुन, विनोद विक, सुकदेव अधिकारी, सपना शाही, संगीता बडुवाल, टेकराज भण्डारी तथा निता थापा मगरले प्रस्तुति दिनुभएको थियो।
नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले यो ऐतिहासिक अवसर भएकाले व्यवस्थापनको जिम्मेवारी लिइएको बताउँदै नौमुले बहुभाषी र बहुसांस्कृतिक पालिका भएकाले यसले सिंगो प्रदेशको प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो।
दैलेखको दुर्गम क्षेत्रमा कर्णालीका विविध लोकनृत्य र संस्कृतिलाई एकै स्थानमा अवलोकन गर्न पाउनु स्थानीयका लागि अभूतपूर्व उपलब्धि भएको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।
दैलेखको नौमुलेमा कर्णाली लोकनृत्य तथा सांस्कृतिक सम्मिलन सम्पन्न
तपाईको प्रतिक्रिया

समृद्धि कृषि । ७ बैशाख २०८३, सोमबार ११:०५