इन्धन मूल्यवृद्धि फिर्ता लिन उनेपाको माग

सुर्खेत — उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले कर्णाली प्रदेशका लागि इन्धनमा विशेष सहुलियत आवश्यक रहेको बताउनुभयो।

उहाँले कर्णालीको विकट भूगोलका कारण यातायात र दैनिक जीवनयापन आफैँमा महँगो हुने भएकाले डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्यवृद्धि उपयुक्त नहुने धारणा राख्नुभयो। “कर्णालीमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमन सहज बनाउन इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उहाँले भन्नुभयो। साथै, छिमेकी भारतमा इन्धनको मूल्य वृद्धि नभएको उल्लेख गर्दै सरकारले नागरिकमाथि थप आर्थिक भार नपार्ने गरी मूल्य समायोजन गर्नुपर्ने उहाँको जोड थियो।

अध्यक्ष घिसिङले दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरूले सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा तथा सरकारमा रहँदा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गर्नुभयो।

उहाँका अनुसार १३२ केभी प्रसारण लाइन विस्तारको काम जुम्लासम्म पुगिरहेको छ। छोटो समयमै पार्टी गठन गरिएकाले व्यवस्थित रूपमा तयारी गर्न नपाउँदै निर्वाचनमा जानुपरेको र त्यसकै कारण पराजय व्यहोर्नुपरेको उल्लेख गर्दै अबको निर्वाचनमा उनेपा बलियो शक्तिका रूपमा उदाउने र वडा तहसम्म सङ्गठन विस्तार गरिने उहाँको भनाइ थियो।

तपाईको प्रतिक्रिया