कर्णाली नदीको बालुवामा प्याज खेतीबाट किसानलाई आम्दानी

कैलाली — मरुभूमि जस्तै देखिने कर्णाली नदीको बगरमा स्थानीय किसानहरूले प्याज खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। टीकापुर नगरपालिका–८ फाँटागाउँका करिब ६० घरपरिवारले बाँझो रहेको नदीकिनारको बालुवामा प्याज उत्पादन गर्दै आयआर्जन गरिरहेका हुन्।

स्थानीय कृषक प्रेम चौधरीका अनुसार नदीको बालुवामा ओसिलोपन लामो समयसम्म कायम रहने भएकाले प्याज खेती राम्रो हुने गरेको छ। “बालुवामा धेरै मेहनत गर्नु पर्दैन, गोबरमल हालेर प्याज रोप्ने र सिँचाइ गर्ने हो,” उहाँले भन्नुभयो, “अन्य जमिनको तुलनामा यहाँ उत्पादन अझ राम्रो हुन्छ।”

फाँटागाउँका अधिकांश किसानले कर्णालीको बगरमा एकदेखि डेढ कट्ठासम्म क्षेत्रमा प्याज खेती गर्दै आएका छन्। कृषक सहीबहादुर चौधरीका अनुसार विगत तीन–चार वर्षदेखि निरन्तर रूपमा नदीको बालुवामा प्याज लगाउँदै आएका छन् र उत्पादन सन्तोषजनक रहेको छ।

किसानका अनुसार आठदेखि दस केजी प्याजको बेर्ना रोप्दा पाँच क्विन्टलसम्म उत्पादन हुने गरेको छ। कतिपय परिवारका लागि यो खेती मुख्य आम्दानीको स्रोत नै बनेको छ।

कर्णाली नदी आसपास बसोबास गर्ने सोनहा जाति परम्परागत रूपमा बालुवा चालेर सुन निकाल्ने पेशामा संलग्न छन्। तर पछिल्लो समय सोही बालुवामा थारू समुदायका किसानहरूले प्याज खेती विस्तार गरेका छन्।

पहिले उपयोगविहीन रहेको विशाल बगर क्षेत्रमा केही वर्षअघि गरिएको परीक्षण सफल भएपछि किसानहरू व्यावसायिक रूपमा प्याज खेतीतर्फ आकर्षित भएका हुन्। “बालुवामा राम्रो उत्पादन भएपछि सबैले यही खेती गर्न थालेका छौँ,” कृषक चौधरीले बताउनुभयो।

बाँझो बगरको सदुपयोग गर्दै गरिएको यो प्रयासले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि र आम्दानीका नयाँ अवसर सिर्जना गरेको छ।

तपाईको प्रतिक्रिया